Monday 2 March 2015

कता गए राजधानीका एक लाख माओवादी ?

कता गए राजधानीका एक लाख माओवादी ?
१८ फागुन, काठमाडौं । राजधानीमा एमाओवादी कार्यकर्ता र समर्थक कति होलान् ? दुईवटा संविधानसभाको निर्वाचनलाई आधार मान्ने हो भने पहिलो चुनावमा उपत्यकामा १ लाख ६७ हजार माओवादी थिए, अहिले ६० हजार घटेका छन् ।
फागुन १६ गते खुल्लामञ्चमा आयोजित जनप्रदर्शनमा राजधानीबाट ६० हजार जनता उतार्ने एमाओवादीको दाबी थियो । तर, राजधानीका माओवादी खासै जागेनन् ।
दोस्रो संविधानसभामा १ लाख ३ हजार १ सय २९ मत ल्याएको एमाओवादीले यहाँबाट ६० हजार मतदातालाई मैदानमा उतार्नु सम्भव पनि थिएन । उपत्यकाका मध्यमवर्गीय मतदाता निश्क्रिय समर्थक मात्र हुन् ।
खुल्लामञ्चमा मन्तव्य दिने क्रममा एमाओवादी नेता डा. बाबुराम भट्टराईले उपत्यकावासी जनतालाई मध्यम वर्गको संज्ञा दिए । मध्यम वर्ग सुरुमै आन्दोलनमा आउँदैन भन्ने विश्लेषण माओकै पालादेखि गरिँदै आएको छ ।
दुई वटा चुनावी आँकडालाई हेर्दा राजधानीमा ६ वर्षको अवधिमा एमाओवादीको मत ६४ हजार ७ सय ९७ घटेको छ । ०६४ सालमा यहाँका १५ वटा निर्वाचन क्षेत्रबाट एमाओवादीले प्रत्यक्षतर्फ १ लाख ६७ हजार ९ सय २६ मत पाएको थियो । ०७० सालमा उसले १ लाख ३ हजार १ सय २९ मत मात्रै पायो ।

एमाओवादीले ०६४ सालमा काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ कूल ९४ हजार ६५ मत पाएको थियो । दोस्रो चुनावसम्म आइपुग्दा काठमाडौंमा उसको मत ३२ हजार घट्यो ।
दोस्रो संविधानसभामा एमाओवादीले ललितपुरबाट २१ हजार र भक्तपुरबाट १० हजार मतदाता गुमायो ।
निश्क्रिय मतदाता
अहिले पनि उपत्यकामा एमाओवादीको भोट १ लाखको हाराहारीमा रहनुलाई पार्टीको स्थिति दयनीय भइसकेको ठान्न सकिँदैन । तर, जुलुस र आन्दोलनमा यो जनमत भौतिकरुपमा खासै काम लाग्दैन ।
फागुन १६ को प्रदर्शंनमा राजधानीबाट जति पनि कार्यकर्ताहरु सडकमा आए, उनीहरु यहीँका मतदाता कम र बाहिरबाट राजधानीमा आएर बसोबास गर्ने कार्यकर्ता बढी थिए । खुलामञ्चमा आउने राजधानीका आप्रवासीहरु संविधानसभाको चुनावका बेला भोट हाल्न गाउँ गएका थिए ।
जिल्लातिर र्फकने लाइन
राजधानीलाई जनआन्दोलनको निणर्ायक थलो मानिन्छ । तर, एमाओवादी मोर्चाले फागुन १६ पछि आन्दोलनमै जानुपर्ने अवस्था आएमा जिल्लातिरै र्फकने नीति अघि सारेको छ । यसको एउटा महत्वपूर्ण कारण राजधानीमा रहेको १ लाख समर्थकप्रति भर नहुनु नै हो ।
प्रथमतः राजधानीको मध्यम वर्गले आफूलाई भोट हाले पनि अहिल्यै भाटा बोक्न नसघाउने एमाओवादी नेताहरुको निश्कर्ष सत्यको नजिक छ । विगतमा ६ दिने आम हडतालले पनि एमाओवादीलाई महत्वपूर्ण पाठ सिकाएकै हुनुपर्छ ।
दोस्रो, माओवादी नेताहरुले यो पनि पाठ सिकिसकेका छन् कि गाउँमा जति आन्दोलन केन्दि्रत गरे पनि सफल भइन्न । न त काठमाडौंमा बाहिरका मान्छेका भरमा मात्रै आन्दोलन गरेर सफल हुन सकिन्छ । शायद यही बुझेर एमाओवादीले अब जिल्ला सदरमुकाममा आन्दोलन केन्दि्रत गर्ने रणनीति लिन लागेको छ ।
दश वर्षे सशस्त्र युद्धका बेला एमाओवादीले ८० प्रतिशत भूभागमा जितेको दाबी गरेको थियो । त्यसबेला राज्यको उपस्थिति जिल्ला सदरमुकाम र काठमाडौं उपत्यकामा मात्रै थियो । तर, सदरमुकाममा फोर्टिफिकेसन बनाएर बसेको राज्यसत्तालाई माओवादीले गलाउन सकेन र ऊ आफैं गल्यो । एक किसिमले भन्दा राज्यले गाउँजति माओवादीलाई छाडिदिएको थियो ।
तेस्रो, फागुन १६ पछि जिल्ला र्फकने एमाओवादी लाइनको चर्चा गर्दा यो पनि ध्यान दिन जरुरी छ कि उसले आफ्नो आन्दोलनलाई पहाडमा भन्दा तराईमा केन्दि्रत गर्न चाहेको छ ।
विगतमा एमाओवादी सशस्त्र संघर्ष ०६१/०६२ ताका तराई क्षेत्रमा पसेपछि राज्य चाँडो गलेको थियो । त्यसैले अहिले राजधानीमा खर्चालु आन्दोलन गर्नुभन्दा मधेसवादी दलको साथलाई अवसरका रुपमा प्रयोग गर्दै तराईका जिल्लामा केन्दि्रत हुने नीति एमाओवादीले अपनाउन खोजेको देखिन्छ । कलैयाको एउटै आन्दोलनले सिंहदरबारलाई गलाएको देखेर पनि विपक्षी दलहरु मधेसतिरै बढ्ता ध्यान दिइरहेका छन् ।
तराईबाट फेरि काठमाडौं आउँदा
आन्दोलनमा जानै पर्ने अवस्थामा एमाओवादी मोर्चा पक्कै पनि मधेसतिर हराउने र अल्मिलिने छैन । उसले फेरि पनि चैत्र अन्तिमतिर राजधानी ताक्ने छ । र, त्यसबेला उसले राजधानीमा गुमनाम अवस्थामा रहेका १ लाख समर्थकलाई सक्रिय बनाउने प्रयास गर्ने छ ।
तर, भन्न सकिन्न, उपत्यकाका एमाओवादी समर्थकहरुको यो हिस्सा अझ टाढिन्छ या एमाओवादीको समीपमा पुग्छ । राजधानीलाई आकर्षण गर्नका लागि ‘नेवा प्रदेश’ बाहेक विपक्षीसँग अहिले अन्य एजेन्डा छैन ।
यस सन्दर्भमा वाइसीएलका उपत्यका इञ्चार्ज दीपशिखा भन्छन्- ‘माओवादीहरु कतै गएका छैनन्, अरु पार्टीमा प्रवेश गरेका छैनन्, निश्त्रिmय भएर बसेका छन् ।’

No comments:

Post a Comment